पाठ्यक्रम विकास केन्द्र क्वारेन्टिन बन्यो

गृह मन्त्रालयको आदेशमा सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टिन बनाइएपछि त्यस क्षेत्रमा रहेका शिक्षा निकायहरुमा निकै खैलाबेला मच्चिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहमति नलिइकनै केन्द्रमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका प्रहरीहरुलाई ल्याएर राखिएको छ । 

गृह मन्त्रालयको आदेश भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सङ्क्रमितसँग सम्पर्कमा रहेका ती प्रहरीलाई केन्द्रको हलमा बस्ने अनुमति दिएका हुन् । ती प्रहरीहरुलाई सिधै ल्याएर हलमा राख्न थालिएपछि केन्द्रका पदाधिकारीहरुले आपत्ति जनाएका थिए । तर गृह मन्त्रालयको आदेशअनुरुप ल्याइएको भन्दै हलभित्र धमाधम ती प्रहरीलाई राखियो ।

फाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले समन्वय र अनुमतिबेगर त्यसरी सङ्क्रमितलाई ल्याइएको बताउँदै भने, “सरकारी कार्यालयलाई यसरी क्वारेन्टिन बनाउन नमिल्ने भन्दै धेरै जनासँग हार गुहार गर्‍यौँ तर कतैबाट पनि सहयोग पाइएन । उनीहरु आएर बसे ।” केन्द्रको हलमा बसेका प्रहरी नजिक कोही जान सक्ने अवस्था छैन । त्यसैले उनीहरु कति सङ्ख्यामा छन् भन्ने जानकारी केन्द्रका पदाधिकारीहरुलाई छैन । हिजो सोमबारबाट बसेका उनीहरुले शौचालय पनि प्रयोग गरेकाले त्रासका कारण केन्द्रका कुनै पनि कर्मचारी कार्यालय भवनभित्र पस्ने आँट गर्न सकेका छैनन् । यति बेला नयाँ पाठ्यक्रमसम्बन्धी काम भइरहेकोले केन्द्रमा कामको चाप बढी छ ।

“जबरजस्ती बसालिएकामध्ये कतिपयलाई कोरोना सङ्क्रमण भएको पनि हुन सक्दछ” उनले थपे, “कामको थुप्रै चाप छ । अब कार्यालयमा गएर काम गर्नसक्ने अवस्था छैन । त्यसैले कर्मचारीहरुलाई जतिसकिन्छ कार्यालयभित्र जोगिएर काम गर्नू नभए घरबाटै काम गर्नू भनेको छु ।” सो हल अपुग हुने भएकाले साविकको शैक्षिक जनशक्ति विकास केन्द्रको आवास गृहमा समेत त्यस्ता प्रहरीलाई ल्याएर राख्ने भक्तपुरको जिल्ला प्रशासन कार्यालयले भनिसकेको केन्द्रका कर्मचारीहरु बताउँछन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal