पहिरोका कारण ताप्लेजुङका विद्यालयको पठनपाठन प्रभावित

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै आएको बाढीपहिराका कारण सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका विद्यालय प्रभवित  भएका छन् ।बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएका पछि बालबालिकाको पठनपाठन अवरुद्ध भएको हो ।

शुक्रबार, शनिवार र आइतबार  परेको निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा –८ आम्फुदीनको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत १२२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ।

जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारण अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छन्। सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन्।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal