विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ, २१ असोज (रासस): विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । 

सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कमिटीले प्रतियोगिताबारे जानकारी दिएको हो । 
खेलकूदमार्फत खेलाडीको जीविकोपार्जन गर्न सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । 

क्रिकेटको मुख्य प्रायोजन निष्ट कलेज लैनचौर काठमाडौँले गरेको छ । विद्यालयस्तरबाट विद्यार्थीलाई खेलकूदमा सहभागी गराउन सकेमात्र देशले राम्रो खेलाडी पाउने विश्वासले कलेजले खेलकूदमा लगानी गर्न खोजेको कलेजका संस्थापक प्राचार्य डा माधवप्रसाद बरालले बताउनुभयो । 

प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाइस्कूल धनगढी, सिद्धार्थ शिशु सदन स्कूल धनगढी (साविक विजेता), शारदा मावि धनगढी, सरस्वती मावि गेटा, क्यास्पियन एकेडेमी धनगढी, एबिसी बोर्डिङ स्कूल नेपालगञ्ज, कैलाली मोडेल स्कूल धनगढी, बिज्डम एकेडेमी बेलौरी कञ्चनपुर, लिटल बुद्ध एकेडेमी महेन्द्रनगर कञ्चनपुर (साविक उपविजेता), हिमालय ह्वाइट हाउस वल्र्ड स्कूल काठमाडौँ, निष्ट स्कूल भक्तपुर र मोक्षदा स्कूल काठमाडौँ गरी १२ विद्यालय सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार ११ र उपविजेतालाई रु ५५ हजार ५५५ पुरस्कार राशि दिइनेछ । 

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई रु पाँच हजार, उत्कृष्ट बलरलाई रु पाँच हजार, उदयमान खेलाडीलाई रु एक हजार (लिग चरणमा), म्यान अफ द म्याचलाई रु एक हजार ५०० (नकआउट चरणमा), म्यान अफ द म्याचलाई (अन्तिम चरण) रु दुई हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइनेछ । 

नेपालका विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीमा खेलकूदमार्फत जीविकोपार्जन गर्न सकिन्छ भन्ने मानसिकताको विकास गराउने उद्देश्य आयोजक कमिटीले लिएको छ । प्रतियोगिता मङ्सिर ४ गतेसम्म हुनेछ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal