अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, १४ मङ्सिर (रासस) ः महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । 

पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक्त कार्यालयका प्रमुख शत्रुधन यादव बताउनुहुन्छ । 

जिल्लामा यसरी बिनाअनुमति सञ्चालनमा रहेका विद्यालयको सङ्ख्या १०० भन्दा बढी भएको अनुमान गरिए पनि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी जानकारी गराएपछि मात्र यकिन विवरण आउने जिल्ला शिक्षा समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । 

बर्दिवास नगरपालिकाको शिक्षा शाखाका प्रशासकीय अधिकृत गणेश दाहाल अनुगमनका क्रममा नगर क्षेत्रका विभिन्न वडा बस्तीमा सञ्चालित ३७ संस्थागत विद्यालयमध्ये अहिलेसम्म १५ वटा अनुमतिबेगर नै सञ्चालित भएको पाइएको जानकारी दिनुहुन्छ । 

तीमध्ये १० विद्यालयले सञ्चालन स्वीकृति लिएका कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरेको पाइएको छ भने पाँचवटाले त विद्यालय सञ्चालनको कुनै प्रक्रिया नै अघि बढाएको नपाइएको उहाँ बताउनुहुन्छ । 

जिल्लामा सञ्चालित प्राय संस्थागत विद्यालयले कक्षाकोठा, विद्यार्थीका लागि बस्ने व्यवस्था, शैक्षिक सहायक सामग्री र योग्य विषय शिक्षकको व्यवस्थाबिना नै स्वीकृतिबेगर नै कक्षा सञ्चालन गर्नाका साथै अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने विज्ञापन गरेर मनपरी चर्को शुल्क उठाउने गरेको सम्बद्ध अभिभावक बताउँछन् । शिक्षा क्षेत्रको यो अस्तव्यस्तता चिर्न सबै स्थानीय तहले योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा शिक्षसेवी कृष्णचन्द्र झा जोड दिनुहुन्छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal