आँबुखैरेनीले सुरु गर्यो पढ्दै कमाउँदै कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । कार्यपालिकाको निर्णय अनुसार पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरिएको हो ।

पालिकाले स्थानीय परिवेश अनुकूल कृषि क्षेत्र छनोट गरी व्यावसायिक रुपमा अदुवा खेती गर्न थालेको छ ।  दुई रोपनी जग्गामा पहिलो पटक १७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो गरेर जम्मा २ सय ४० केजी ब्युउ रोपिएको पालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ”, उनले भने, “सिपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं ।”                        

विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत पहिलो विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको चुमानको भनाइ छ ।

विद्यार्थी आफैंले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए । यो कार्यक्रमले विद्यार्थीलाई सिपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ । “पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन् प्रभावकारी हुन्छ”, ढकालले भने, “विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन् ।”

गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । “विद्यार्थीलाई पढाइका साथसाथै सिपमा जोड्ने कार्यक्रमको मुख्य लक्ष्य हो, यसले गर्दा विद्यार्थीलाई पछि आत्मनिर्भर बन्न सहयोग पुग्छ ।”

यो कार्यक्रमअन्तर्गत उत्पादन गरिने कृषि उपज वस्तुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने केसीले बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal