अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस  छनोट

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस  छनोट गरेको छ ।

देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको हो । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि छनोट गरेको छ । अनुदान आयोगले छानेको क्याम्पसमा पुल्चोक कलेज, सप्तगण्डकी बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालयको फ्याकल्टी अफ एग्रिकल्चर साइन्स, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, हेटौडा स्कुल अफ म्यानेजमेन्ट, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, लुम्बिनी वाणिज्य क्याम्पस, प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स, सेन्ट्रल डिपार्टमेन्ट अफ बायोटेक्नोलोजी, वागीश्वरी कलेज, ग्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्री, गुप्तेश्वर बहुमुखी क्याम्पस , काभ्रे बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस, स्कुल अफ म्यानेजमेन्ट, मध्यपश्चिम विश्वविद्यालय, सहिद स्मृति बहुमुखी क्याम्पस, सिन्धुली बहुमुखी क्याम्पस र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालय रहेका छन् ।

यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् ।  उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलता सम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् ।

तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले जानकारी दिए ।  उनले भने, “पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको हो । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम सुरु गर्नुपर्छ । यो नयाँ अवधारणाअनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।” 

Degrees offered in nepal
Counseling
Bachelors Portal