आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तै

आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तै

परीक्षा नियन्त्रण कार्यालयले आगामी साता २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजामा त्रुटि नहोस् भन्नका लागि इन्ट्री रुजु भइरहेको जानकारी दिए । करिब डेढ सय कर्मचारीलाई इन्ट्री रुजुका लागि परिचालन गरिएको छ । शिक्षा सेवातर्फका अधिकृत स्तरसम्मका कर्मचारीलाई सो कार्यमा प्रयोग गरिएको छ ।

यसैबीच बोर्डले एसइईको ग्रेड सिट कक्षा १२ को जस्तै हुने निर्णय गरेको छ । 

प्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार सैद्धान्तिक र आन्तरिकको अलग अलग ग्रेडप्वाइन्ट र ग्रेड उल्लेख हुनेछ । त्यसपछि समग्रमा विषयगत ग्रेड हुनेछ । सबैभन्दा पुछारमा ग्रेड प्वाइन्ट एभरेज (जिपिए) उल्लेख हुनेछ । 

यसपटकबाट नयाँ जारी गरिएको लेटर ग्रेडिङ निर्देशिकाअनुसार मूल्याङ्कन हुनेछ । सोअनुसार ३५ प्रतिशत प्राप्त नगर्नेको नन ग्रेडेड उल्लेख हुनेछ । नन ग्रेडेडको व्यवस्था सैद्धान्तिक र आन्तरिक दुवैमा लागू हुने जनाएको छ ।

परीक्षा नियन्त्रक कार्यालयका सम्बद्ध पदाधिकारीहरुले ननग्रेडको व्यवस्थाले गर्दा यसपटक ‘अनुत्तीर्ण’ हुनेहरुको सङ्ख्या बढी हुनसक्ने अनुमान गरेका छन् । बढीमा दुई विषयसम्म ननग्रेड प्राप्त गरेका परीक्षार्थीका लागि आगामी साउनमा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गरिने बताइएको छ । उनीहरुले तीन पटकसम्म पनि ननग्रेड प्राप्त गरिरहेमा त्यसपछिको परीक्षामा पूरा विषयको परीक्षा दिनुपर्ने हुन्छ ।