आजबाट एसइई ग्रेडवृद्धि परीक्षा

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) परीक्षा आजबाट सञ्चालन हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार परीक्षामा करिब दुई लाख १० हजार सहभागी हुँदैछन् ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार ३५ प्रतिशतभन्दा कम प्राप्त भएकाको प्रमाणपत्रमा ‘नन ग्रेडेड’ अर्थात् एनजी उल्लेख हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार गत महिना नतिजा सार्वजनिक हुँदा दुई लाख ४२ जनाको एनजी उल्लेख थियो । 

साविकको निर्देशिकामा बढीमा दुई विषयसम्म एनजी प्राप्त गरेकाले ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रातारात निर्देशिका परिवर्तन गरी जति पनि विषयमा एनजी प्राप्त गरेकाले पनि ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिदिएको थियो । यो कार्यमा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको जोडबल थियो । यसले गर्दा मन्त्री निकै विवादमा तानिएकी थिइन् ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नियमित परीक्षाका बेला विज्ञले तयार गरेका प्रश्न बैंकबाट ग्रेडवृद्धि परीक्षाका लागि प्रश्नपत्र तयार गरिएको जानकारी दिए । प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण मुद्रणालयमा छापिएको छ । परीक्षाको नतिजा सार्वजनिक हुन भदौको अन्तिम लाग्न सक्ने अनुमान गरिएको छ ।

परीक्षाका लागि देशभरि ५५० परीक्षा केन्द्र कायम गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal