अब कक्षा १० र १२ मा विषय कोड एउटै

कक्षा ९\१० र कक्षा ११\१२ को वार्षिक परीक्षामा विषय कोड एउटै कायम हुने भएको छ । हाल एउटै विषयको पनि कक्षा ९\१० मा एउटा र कक्षा ११\१२ मा अर्काे कोड रहने गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “अब हरेक विषयमा चार अङ्कको कोड रहनेछ । उदाहरणको रुपमा अनिवार्य नेपाली विषयको कोड कक्षा १० मा र कक्षा १२ मा एउटै हुनेछ । एकरुपताले विषय कोड सम्झन सजिलो हुन्छ ।”

साधारण, संस्कृत लगायत धारतर्फ अनिवार्य १५ वटा विषय छन् भने ऐच्छिक विषय ५० भन्दा बढी छ । सबै विषयमा हाल तीन वटा कोड दिने चलन छ । कक्षा १० मा उल्लेखित कोड र उही विषयको कक्षा १२ मा मिल्दैन ।

एनले अब चार अङ्कको विषय कोड हुने बताए । उनका अनुसार पछाडिको ‘१’ अङ्कले सैद्धान्तिक र ‘२’ अङ्कले प्रयोगात्मक विषयको कोडलाई जनाउँछ । हरेक विषयको पछाडि १ वा २ अनिवार्य रहनेछ । हाल अनिवार्य विषयका कोड १०१ बाट सुरु छ ।  

हाल एसईईमा विषय कोड १०१ ले अनिवार्य अङ्ग्रेजी विषयलाई जनाउँछ भने अब सोही कोडले कक्षा १२ को अनिवार्य अङ्ग्रेजीलाई जनाउनेछ । त्यस्तै अनिवार्य नेपालीको कोड १०६, अनिवार्य गणितको कोड १०९, अनिवार्य विज्ञानको कोड १११, सामाजिक अध्ययनको कोड १२३, अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको कोड १३३ आदि छ । नयाँ व्यवस्थाअनुसार अब एसईईमा अनिवार्य अङ्ग्रेजी विषयको कोड १०१–१ वा १०१–२ कायम हुनेछ । लिखित परीक्षामा १०१–१ उल्लेख हुनेछ ।

परीक्षा नियन्त्रक श्रेष्ठले यसै कारण कक्षा ९ को रजिष्ट्रेसन खुला हुन नसकेको बताउँदै भने, “विषय कोड टुङ्गिएको छ । अब छिटै कक्षा ९ मा रजिष्ट्रेसन खुला गरिनेछ ।” विगतमा कक्षा ९ को रजिष्ट्रेसन कात्तिक महिनामा खुला गर्ने चलन रहँदै आएको थियो ।

विद्यालय कोड पनि एउटै

अबदेखि देशभरिका विद्यालयको कोड एउटै कायम हुने भएको छ । हालसम्म कक्षा १० सम्म सञ्चालित विद्यालयको एउटा र कक्षा १२ सम्म सञ्चालित विद्यालयको अर्काे कोड कायम गरिँदै आएको थियो । कक्षा १० सम्मका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले र कक्षा १२ का विद्यालयको राष्ट्रिय परीक्षा बोर्डले कोड कायम गर्ने अभ्यास रहँदा दोहोरो कोड कायम गर्ने चलन रहेको हो । 

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले केन्द्र र बोर्डबीच यस विषयमा सैद्धान्तिक सहमति भएको जानकारी दिँदै भने, “यसले गर्दा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा पनि समान विद्यालय कोड रहने हुन्छ ।” 

Degrees offered in nepal
Counseling
Bachelors Portal