
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । ‘हिमालय भविष्यको परिकल्पना : दिगोपन र विकासको बाटो’ शीर्षकमा भएको सम्मेलनमा १९४ अनुसन्धानमूलक कार्यपत्र समावेश छन् ।
कला, कानुन र शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एण्ड हेल्थ साइन्ससहित पाँच वटा विषयमा छलफल हुँदैछ । सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अन्तरराष्ट्रिय सम्मेलनको महत्वमाथि प्रकाश पारे । उनले यस्ता सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तरराष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयबिचका सम्बन्धमा ठूलो महत्व राख्ने बताए ।
पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राडा मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु वालेस मुख्य वक्ताका रूपमा थिए भने दोस्रो सत्रको मुख्य वक्ताका रुपमा चुलालोङकम विश्वविद्यालय थाइल्याण्डका प्राध्यापक डा किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्याण्डका प्राध्यापक राफल लिजुट र नर्थ वेष्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज रहेका थिए ।
तेस्रो सत्रको प्रमुख वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका प्राडा सुदन झा, बिएमएल युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्रप्रसाद पौड्याल थिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा विजुकुमार थपलियाले अन्तरराष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिँदै सहभागी तथा अतिथिहरुको स्वागत गरेका थिए भने रजिष्टार प्राध्यापक डा कल्याणी मिश्रले अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।




