एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रक

एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रक

यस वर्ष (२०८० साल)को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब मुस्किलले दुई महिना बाँकी छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) प्रश्नपत्र तयारीमा निकै व्यस्त छ । अब केही दिनमै प्रश्नपत्र छपाइ कार्य सुरु हुँदैछ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग एडुपत्रले एसईईका तयारी र जोडिएका विभिन्न विषयको सेरोफेरोमा रहेर कुराकानी गरेको छ ।

उनले निर्धारित समय तालिकाअनुसार तयारी जारी रहेको बताए । “अहिलेसम्मको अवस्था हेर्दा ठिक छ” उनले भने ।

कक्षा १२ को जस्तो अनलाइनबाट नभई प्रश्नपत्र नै छपाएर पठाइनेछ । यसपटक नयाँ पाठ्यक्रमअनुसारको प्रश्नपत्र सोधिने छ । “केही विषयवस्तु नयाँ र केही उस्तै हुन्छन् तर केही फरक हुन्छ । यो वर्ष अनिवार्य र ऐच्छिक गणितमा पनि प्रयोगात्मक परीक्षा हुन्छ” उनले भने ।

परीक्षा नियन्त्रक पौडेलले नयाँ पाठ्यक्रम भएको हुनाले नयाँ प्रकृतिको प्रश्न सोधिनु स्वभाविक हुने बताउँदै यसमा विद्यार्थीले अप्ठेरो महसुस गर्ने भए पनि आत्तिनु नपर्ने बताए । “परीक्षा तात्विक रूपमा उस्तै हो । समय अहिले थपिएको छ । ७५ पूर्णाङ्कलाई तीन घण्टा समय बनाइएको छ । ५० पूर्णाङ्कलाई दुई घण्टा समय निर्धारण गरिएको छ । स्तरीकृत परीक्षा भएकाले कतिपय विद्यार्थीले सम्झेर गर्नुपर्ने केही व्याख्या तथा वर्णन गर्नुपर्ने खालका हुन्छन्” उनले भने ।

प्रश्नपत्रको नमुना सार्वजनिक भइसकेको पनि छ । यसबीचमा विभिन्न विद्यालयले सेन्टअपका नाममा पनि परीक्षा सञ्चालन गरिरहेका छन् । कतिपयले नमुनाभन्दा बाहिर गएर प्रश्नपत्र तयार गरेको पाइएको छ । उनले विज्ञान विषयमा वस्तुगत प्रश्न १० नम्बरको सोधिने र पहिले वस्तुगत प्रश्नको उत्तर दिएपछि मात्र सैद्धान्तिकको प्रश्न प्रदान गरिने जानकारी दिए । “यो पटक विज्ञानमा दुईखाले प्रश्न सोधिने छ” उनले भने ।

उनका अनुसार पाठ्यक्रमले निर्धारण गरेको ग्रीड (विशिष्टिकरण तालिका) अनुसार प्रश्न सोधिने छ । पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा नमुना प्रश्नपत्र राखिएको र सोहीअनुसार अभ्यास तथा तयारी गर्न उनको सुझाव छ ।

शिक्षकले प्रयोगात्मकमा जथाभावी अङ्क प्रदान गर्ने प्रवृत्ति पनि उत्तिकै छ । लिखितमा कम ल्याउनेहरूको प्रयोगात्मकमा २५ अङ्क पाएको अवस्था छ । परीक्षा नियन्त्रक पौडेलले प्रयोगात्मक कार्य गरेका र नगरेका विद्यार्थीलाई समान अङ्क दिन नहुने बताए । “दैनिक जीवनमा प्रयोग हुने काम नै प्रयोगात्मक हो । दैनिक जीवनमा प्रयोग हुने कुरालाई संकुचित गरेर शिक्षकको मनोपोलीमा राखियो भने राम्रो हुँदैन । सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा फरक अवस्था देखियो” उनले भने, “कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई एकै ठाउँमा राख्न हुँदैन । कतिपय सैद्धान्तिकमा राम्रो तर प्रयोगात्मकमा नराम्रो, सैद्धान्तिकमा कमजोर प्रयोगात्मकमा राम्रो हुने हुँदा विद्यार्थीको वास्तविक ज्ञानअनुसार मूल्याङ्कन गर्नुपर्छ । सही मूल्याङ्कन गरियो भने विद्यार्थी सिकाइमा जागरुक हुन्छन् ।”

उनले मनाङ, मुस्ताङ जस्ता निकै दुर्गम क्षेत्र वा निकै टाढा पर्ने भएकाका हकमा बाहेक होम सेन्टर कायम नहुने बताए । उनले परीक्षा केन्द्रले फरक नपर्ने भन्दै तीन वर्षभन्दा बढी समयसम्म एउटै विद्यालयमा परीक्षा केन्द्र नराख्न परिपत्र गरिएको जानकारी दिए । यसपटक नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र प्रयोगात्मकमा ३५ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । सैद्धान्तिकको ७५ मा कम्तीमा २७ अङ्क प्राप्त गर्नैपर्ने हुन्छ । त्यति नल्याउने विद्यार्थीले ननग्रेडेड प्राप्त गर्नेछन् । एसईईमा न्यूनतम अङ्क नराख्दा विद्यार्थीले माथिल्लो तहमा राम्रो नतिजा प्राप्त नगरेकाले यसपटकबाट नयाँ व्यवस्था गरिएको उनको तर्क छ । “३५ अङ्क पनि ल्याउन नसक्ने बालबालिका कम हुन्छन् । अहिलेबाटै तयारी गर्ने हो भने त्यो सम्भव छ । अहिले एसईई दिने बालबालिका कोभिडको प्रभावबाट आएका हुन् । त्यो समयमा कति सिके भन्नेमा भर पर्छ । सङ्क्रमणकालमा राम्रो सिकेका विद्यार्थीलाई सहज भए पनि कम सिकाइ भएका विद्यार्थीलाई विद्यालय तथा अभिभावकले राम्रो ध्यान दिनुपर्छ” उनले भने ।