देशभर कक्षा १२ को परीक्षा सुरु, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी

काठमाडौँ, वैशाख २२ - राष्ट्रिय परीक्षा बोर्डले आजदेखि देशभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ। परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ गरी कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

देशभरका ५ हजार २ सय २ विद्यालयका विद्यार्थीका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएका छन्। विशेषगरी, जापानस्थित एभरेस्ट स्कुलका ३८ विद्यार्थीले त्यहीँको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

भौगोलिक हिसाबले सबैभन्दा कम परीक्षार्थी मनाङमा रहेका छन्, जहाँ जम्मा ४५ जना विद्यार्थी सहभागी हुँदैछन्। त्यहाँ एउटा मात्र परीक्षा केन्द्र तोकिएको छ। काठमाडौं उपत्यकामा भने सबैभन्दा बढी ६८ हजार १ सय ३३ परीक्षार्थी सहभागी हुनेछन् र यहाँ १ सय ६२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। मुस्ताङमा पनि १ वटा परीक्षा केन्द्र तोकिएको छ।

जेठ २ गतेसम्म सञ्चालन हुने यस परीक्षाका लागि ४८ हजार २ सय ९ जना जनशक्ति परिचालन हुनेछन्। यसअघि वैशाख ११ गतेका लागि तय भएको परीक्षा नेपाल शिक्षक महासंघको आन्दोलनका कारण १० दिन पछि सारिएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सबैलाई आग्रह गरेका छन्।

प्रदेशगत रूपमा हेर्दा, कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन्। बोर्डका अनुसार कोशी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेश प्रदेशबाट ६९ हजार ८ सय ८, गण्डकी प्रदेशबाट ४३ हजार ३ सय ४९, लुम्बिनी प्रदेशबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षाको अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। बोर्डले परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान निषेध गरेको छ। यस वर्ष पनि कोभिड महामारीदेखि सुरु गरिएको विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाउने व्यवस्थालाई निरन्तरता दिइएको छ। परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि केन्द्राध्यक्षले तोकिएको युजर आईडी प्रयोग गरी प्रश्नपत्र डाउनलोड गर्न सक्नेछन्। प्रश्नपत्र डाउनलोड र छपाइ केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र केन्द्रमा खटिएका प्रहरी प्रमुखको रोहबरमा मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal