बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै वार्षिक प्रणालीअन्तर्गत सञ्चालन भइरहेका बीबीएस, बीए, बीएड र बीएस्सीलगायतका विषय बन्द गर्ने तयारी गरेको छ। उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार पुराना विद्यार्थीलाई शैक्षिक योग्यता पूरा गर्ने अवसर दिन असार मसान्तसम्म एकपटक मौका परीक्षा सञ्चालन गरी प्रमाणपत्र उपलब्ध गराइनेछ।
उपकुलपति अर्यालले फुड एन्ड टेक्नोलोजी विषयमा यसै शैक्षिक वर्षदेखि वार्षिक प्रणालीमा नयाँ भर्ना बन्द भइसकेको जानकारी दिए। उनका अनुसार विश्व बजारको मागअनुसार शैक्षिक प्रणाली विकास गर्दै लैजाने क्रममा वार्षिक प्रणालीका विषय क्रमशः बन्द गर्न लागिएको हो। बीबीएस, बीए, बीएड, बीएस्सी र तीनवर्षे कानुन विषयमा विद्यार्थीको आकर्षण घटेकाले पुराना विद्यार्थीलाई मौका परीक्षा दिइएको उनले बताए।
त्रिविका सहायक परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार विश्वविद्यालयले २०५८ सालदेखि पुराना विद्यार्थीलाई मौका परीक्षा दिँदै आएको छ। स्नातकोत्तर तहका चार हजार विद्यार्थीको परीक्षा गत असार–साउनमै सम्पन्न भएको थियो। तीनवर्षे स्नातक तहको तेस्रो वर्षको परीक्षा फागुन १३ मा सकिएको छ भने दोस्रो वर्षको परीक्षा चैत २ देखि र पहिलो वर्षको परीक्षा जेठदेखि सञ्चालन हुने तालिका छ। चारवर्षे स्नातक तहको चौथो, तेस्रो र दोस्रो वर्षको परीक्षा सम्पन्न भइसकेको र पहिलो वर्षको परीक्षा जेठदेखि सुरु हुने उनले बताए।
त्रिविका नियमित परीक्षा चैत २५ देखि वैशाख २५ सम्म सञ्चालन हुने भएकाले पुराना विद्यार्थीको परीक्षा केही ढिलो भएको कलौनीले जानकारी दिए। भर्ना भएर पनि शैक्षिक तह पूरा नगरेका विद्यार्थीको अध्ययन अधुरो रहेकाले मौका परीक्षा दिन लागिएको उनको भनाइ छ। कानुन संकायका करिब एक हजार विद्यार्थीको परीक्षा पनि असारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
आर्थिक वर्ष २०८१/८२ मा त्रिविले मानविकी संकायको बीए, व्यवस्थापनको बीबीएस, शिक्षाशास्त्रको बीएड, विज्ञान तथा प्रविधिको बीएस्सी र कानुन संकायका पुराना वार्षिक प्रणालीका विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरेको छ। यसअघि पनि शैक्षिक वर्ष २०६८/६९, २०७३/७४ र २०७९/८० मा पुराना विद्यार्थीलाई यस्तो अवसर दिइएको थियो।
यसपटक २० वर्षभन्दा पुराना विद्यार्थीसमेत गरी करिब ५० हजार विद्यार्थी मौका परीक्षामा सहभागी हुनेछन्। सबै पुराना ब्याचका परीक्षा असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार वार्षिक प्रणालीको तुलनामा सेमेस्टर प्रणाली खर्चिलो हुन्छ, किनकि वार्षिक प्रणालीमा वर्षमा चारवटा परीक्षा सञ्चालन हुने गरेकोमा सेमेस्टर प्रणालीमा प्रत्येक छ महिनामा परीक्षा सञ्चालन गर्दा आठवटा परीक्षा हुने गर्छन्।