शिक्षण स्वयंसेवामा १२ हजारको आवेदन

शिक्षण स्वयंसेवामा १२ हजारको आवेदन

शिक्षण स्वयंसेवकका लागि १२ हजारभन्दा बढीले आवेदन दिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइनमार्फत आवेदन आह्वान गरेको थियो । 

केन्द्रका महानिर्देशक डा. तुल्सीप्रसाद थपलियाले भने, “आइतबार राती १२ बजेसम्मको समयावधि तोकिएको थियो । आवेदनको यकिन सङ्ख्या थाहा हुन बाँकी छ, तर १२ हजारभन्दा बढीको आवेदन परेको छ ।” 

सरकारले ‘चिनौं आफ्ने माटो, बनाऔँ आफ्नै देश’ अभियानअन्तर्गत शिक्षण स्वयंसेवकका लागि आवेदन आह्वान गरेको थियो । शिक्षक अभाव भएका विद्यालयमा आगामी नयाँ शैक्षिक सत्र २०७७ को वैशाखदेखि चैत महिनासम्मका लागि शिक्षण स्वयंसेवकका रुपमा एक हजार पाँच सय जनालाई खटाउने योजनाअन्तर्गत यो अभियान थालिदैछ ।

जुन सुकै विषय पढेका स्नातक वा स्नातकोत्तर उत्तीर्ण भएका र १८ देखि ४० वर्ष उमेर समूहकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । शिक्षाशास्त्र विषय अध्ययन गरेकाले पनि आवेदन दिन पाउने व्यवस्था रहेको थियो भने अध्यापन अनुमतिपत्र आवश्यक थिएन ।

“त्यतिका आवेदन पर्नुले हामीलाई उत्साहित बनाएको छ । सकारात्मक सहभागिता रहेको छ” उनले भने, “विद्यालयमा शिक्षक पर्याप्त छैनन् । त्यहाँको शिक्षक अभावलाई केही हदसम्म भए पनि पूरा गर्न सकोस् भन्ने मान्यताअनुरुप यो अभियान सुरु गर्दैछौँ ।”

उनले अब परेका आवेदन केलाउन थालिने बताए । अङ्ग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ् विषयका लागि स्वयंसेवक खटाउन लागिएको हो । उनले ती विषय बाहेककाले पनि आवेदन दिएको हुन सक्ने उल्लेख गर्दै उफयुक्त व्यत्ति छनोट गरी सिफारिस गरिने बताए । “आगामी वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिनमा स्वयंसेवक विद्यालयमा पुर्‍याउने गरी काम अगाडि बढाउनेछौँ” केन्द्रका महानिर्देशक डा. थपलियाले भने ।

देशका ६४८ पालिकासँग आफूहरुले कुरा गरेको र तिनमा मागका आधारमा छनोट भएका स्वयंसेवकलाई खटाइने बताउँदै उनले थपे, “कुन पालिकाले कुन विषयको स्वयंसेवक माग्नेछ, त्यही आधारमा उनीहरुलाई खटाउने छौँ ।” आवेदन माग गर्दा सम्बन्धित व्यक्तिलाई आफूले स्वयंसेवा गर्न चाहेको पालिकाको छनोट गर्ने अवसर दिइएको छ ।

स्वयंसेवाका लागि क, ख र ग वर्ग कायम गरिएको छ । स्नातक तह उत्तीर्णलाई सुगममा खटिए मासिक २४ हजार रुपियाँ उपलब्ध गराइनेछ भने दुर्गममा जानेलाई मासिक ३० हजार रुपियाँ उपलब्ध गराइनेछ । त्यस्तै स्नातकोत्तर तह पूरा गरेकाले सुगममा मासिक २६ हजार रुपियाँ र दुर्गममा ३२ हजार रुपियाँ पाउनेछन् । उनीहरुलाई दिइने पारिश्रमिकलाई तलब नभनी निर्वाह भत्ता भनिएको छ । उनीहरुले १२ महिनाको निर्वाह भत्तामात्र पाउनेछन् ।

यसरी खटिने स्वयंसेवक नटिक्ने अवसर पनि उत्तिकै रहन्छ । राम्रो अवसर पाएकाहरु बीचैमा छोडेर जाने सम्भावना पनि उत्तिकै रहन्छ । केन्द्रका महानिर्देशक डा. थपलियाले नटिक्ने समस्या रहने स्वीकार्दै सकभर एक वर्षभरि सेवा गरुन् भन्ने आग्रह र विश्वास गरिएको बताए ।

सरकारले शिक्षण स्वयंसेवक खटाउने विषयलाई लिएर नेपाल शिक्षक महासङ्घले आपत्ति जनाउँदै आएको छ । महासङ्घले यसरी स्वयंसेवक खटाउन नपाउने भन्दै आएको छ ।

डा. थपलियाले स्वयंसेवा पूरा गरेकाहरुलाई अन्तिममा प्रमाणपत्र प्रदान गरिने योजना रहेको बताए ।