SEE Result 2082

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ। बैठकले शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा प्रशासनिक क्षमता अभिवृद्धिका उद्देश्यले तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ।

बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ अनुमोदन गरेको हो।

शिक्षा नियमावली, २०५९ को नियम ७२ अनुसार गठन गरिएको परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रसँग आबद्ध जनशक्तिको क्षमता विकास, नीति निर्माण तथा व्यवस्थापन सुधारमा निरन्तर काम गर्दै आएको छ।

मन्त्रालयका अनुसार, नवस्वीकृत शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयनमा आएपछि प्रशिक्षकहरूको दक्षता अभिवृद्धि हुने र शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

यस्तै, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय तहमा सक्षम शैक्षिक नेतृत्व विकास गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

त्यसैगरी, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारी तथा प्राविधिक सहायकहरूका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीय शासन प्रणालीअनुरूप तीनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। यसबाट सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउनुका साथै शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

+2 School
Counseling
Bachelors Portal