अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्क गर्न त्रिविको आग्रह

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएपछि सेवामा नफर्किएका तथा फर्किएर पनि अनिवार्य सेवा अवधि पूरा नगरेका शिक्षक र कर्मचारीलाई २०८३ साल पुस मसान्तसम्म रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
विश्वविद्यालयले सम्बन्धित व्यक्तिलाई studyleave@tu.edu.np इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ। अध्ययन बिदासम्बन्धी दायित्व पूरा नगरेका व्यक्तिबाट विश्वविद्यालयले पाउनुपर्ने रकम असुल गर्ने प्रक्रिया अघि बढाइएकाले यस्तो आग्रह गरिएको हो।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार अध्ययन बिदापछि सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीका ७५ वटा केसबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुल गरिएको छ।
विश्वविद्यालयले अध्ययन बिदाका क्रममा उपलब्ध गराएको तलब, भत्ता तथा अन्य सुविधाको हिसाब गरी नियमानुसार हर्जानासहित रकम असुल गर्ने प्रक्रिया अघि बढाएको छ। थप केसको अभिलेख खोज्ने र रकमको हिसाब तयार गर्ने काम पनि जारी रहेको छ। उपलब्ध विवरणअनुसार हिसाब तयार भएका केसमा असुल गर्नुपर्ने रकम करिब २१ करोड ५० लाख रुपैयाँ रहेको छ।
त्रिविका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी विश्वविद्यालयलाई तिर्नुपर्ने रकम निर्धारण गर्ने काम भइरहेको छ। तोकिएको समयभित्र सम्पर्कमा नआउने व्यक्तिमाथि विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार कानुनी कारबाही अघि बढाइने विश्वविद्यालयले जनाएको छ।