विद्यार्थीलाई सम्बन्धित विभागमा सम्पर्क गर्न त्रिविको आग्रह

विद्यार्थीलाई सम्बन्धित विभागमा सम्पर्क गर्न त्रिविको आग्रह

त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आकलन गरी चैत्रको तेस्रो सातादेखि नै अनलाइन कक्षा सञ्चालन गरेको भएपनि अहिलेसम्म अधिकांश विद्यार्थीले सम्बन्धित विभागमा सम्पर्क नै गरेका छैनन् ।

त्रिविले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेल आईडी तयार गर्दै अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको भएपनि विद्यार्थीहरू सम्पर्कमा आएका छैनन्। अहिलेसम्म करिब दुई लाख शिक्षक विद्यार्थी मात्र सम्पर्कमा रहेको त्रिविले जानकारी दियो ।

त्रिविका अनुसार हालसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसहरूको सम्पर्कमा नआएका कारण पठनपाठन तथा परीक्षा सञ्चालन गर्न समस्या भएको छ ।  त्रिविले आफ्ना सम्पूर्ण विद्यार्थीहरूलाई आआफ्नो विभाग स्कूल क्याम्पहरूमा तुरुन्तै सम्पर्क राख्दै पठनपाठनमा सहभागी हुन आग्रह गरेको छ ।

‘आफ्नो सम्पर्कमा त्रिविका विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद तथा अन्य सबै सरोकारवालाहरू तत्काल खबर गरिदिनुहुन आग्रह गर्दछौं ।’ शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले भने, ‘सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालयहरू समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकतासाथ लागि पर्ने र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु सार्वजनिक आग्रह गरेका छौं ।’