विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा दिनभर
मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो ।
‘खोलामा पुल छैन । विद्यार्थीलाई खोला तार्दा पुरै भिजिन्छ । भिजेकै कपडामा दिनभर अध्यापन गराउनु पर्ने बाध्यात्मक अवस्था छ’ प्रधानाध्यापक घलेले भने, ‘घर पाएक पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कपडामा दिनभर पढाउन बाध्य छु ।’
विसं २०७० बाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन् ।
खोला तारेर विद्यालय पुर्याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिमपूर्ण छ । बाटोमा पनि जोखिम विद्यालयमा पनि जोखिमका साथ उक्त विद्यालयका बालबालिका पढ्दै आएरहेका छन् ।
वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त दिउसै विद्यालय तार्नुपर्ने पर्ने दुखःद अवस्था छ । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नै नआउने, विचैमा पढाइ छाड्ने गरेको उनको भनाइ छ ।
उप्रधानाध्यापक घले कालाभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको भए पनि कतैबाट सुनुवाइ नभएको बताउँछन् । उक्त स्थानबाट नजिक रहेका अरु दुई ओटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रधानाध्यापक घलेले जानकारी दिए ।
कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रधानाध्यापक घलेले जानकारी दिए ।
सिमात खोला तर्न हरेक वर्ष झरी पर्दा विदार्थीलाई सास्ती हुने उनले बताए । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत रहेका छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ ।
हाल यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बालबालिका बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् । भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रधानाध्यापक घलेले बताए । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङले बताए । प्रधानाध्यापकपनि विद्यार्थीलाई खोला तार्न जाने गरेको उनी बताउँछन् ।
धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए ।
स्थानीय, अभिभावक तथा विद्यालयका प्रधानाध्यापकले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीको गुनासो छ ।
विसं २०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एक जना प्रधानाध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ ।
सरकारले आज संविधान दिवसको अवसरमा केही शिक्षकलाई सम्मान स्परुप विभिूषण प्रदान गर्यो । लामो समयदेखि आफ्नो जीवनको प्रमुख गन्तव्य नै बालबालिका र सिकाइ बनाएका शिक्षकलाई सम्मान गर्यो । धेरै शिक्षा सेवीलाई पनि । जीवनको पहिलो गन्तब्य नै सिकाइ बालबालिका हुन् भनेर कुना कन्दरामा अहोरात्र, प्रतिकूल भूगोलमा पनि सहजता खोज्ने शिक्षकलाई विर्षयो कि चासोको विषय बनेको छ ।