शिक्षकलाई किताबखानाको अनुरोध– सकभर अहिले सेवा लिन नआउनू

शिक्षकलाई किताबखानाको अनुरोध– सकभर अहिले सेवा लिन नआउनू

राष्ट्रिय  किताबखाना (शिक्षक)ले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले सेवाका लागि सकभर नआइदिन सेवानिवृत्त शिक्षकसँग आग्रह गरेको छ ।

किताबखानाका उपमहानिर्देशक रामराज खकुरेलले कोभिड–१९ को तेस्रो लहरका कारण कर्मचारी प्रभावित भएको र यसले गर्दा गर्दा कार्यालयमा कर्मचारीसमेत अभाव भएको बताए ।

उनका अनुसार अधिकृत चार जनामध्ये तीन जना र उपसचिव तीन जनामध्ये दुई जना सङ्क्रमित भएका छन् ।

“प्रकोप बढेका बेला सकभर नआइदिए हुन्थ्यो भन्ने चाहेका छौँ” उनले भने, “सेवा प्रवाह बन्द हुँदैन तर सेवा लिन आउने शिक्षक वा उनका परिवारजन सङ्क्रमित हुने डर छ । त्यसैले जहिले आए पनि केही बिग्रदैन ।”

उनले आज २२ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको जानकारी दिए । गत महिना दैनिक सरदर ६० जना सेवाग्राही आउने गरेकोमा कोरोना सङ्क्रमण बढेसँगै सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।

अधिकाँश अवकास भएका शिक्षक सेवा लिन किताबखाना पुग्ने गरेका छन् । अवकास भएको मितिले नै पेन्सन वा उपदान पाउने भएकाले हतार गरिरहनु आवश्यक नरहेको भनाइ किताबखानाका पदाधिकारीको छ ।

उनले भोलि शुक्रबारबाट सेवाग्राहीले अनिवार्य रूपमा खोप कार्ड ल्याउनैपर्ने बताए ।

यसैबीच गत छ महिनामा राजीनामा दिने, अनिवार्य अवकास हुने र मृत्यु हुने शिक्षकको सङ्ख्या निकै बढेको पाइएको छ ।

किताबखानाका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा एक हजार २५ जना शिक्षकले पदबाट राजीनामा गरेका छन् । त्यस्तै एक हजार ५७५ जना शिक्षकले अनिवार्य अवकास पाए भने २०१ जना शिक्षकको मृत्य भएको छ । यस छ महिनामा किताबखानाले दुई हजार ८०१ शिक्षकको सेवा सुविधा निर्धारण गरेको छ । गत २०७७÷७८ मा ७९७ जना शिक्षकले राजीनामा गरेका, दुई हजार ३५६ जना शिक्षकले अनिवार्य अवकास पाएको र २०७ जनाको मृत्यु भएको थियो । गत वर्ष तीन हजार ३६० जनाको सेवा सुविधा निर्धारण गरिएको थियो ।