काठमाडौँ महानगरले १०७ सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको स्थलगत अध्ययनमा ती विद्यालय सञ्चालनमा नरहेको पाइएको हो।
महानगरपालिकाले त्यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ। विभागले आइतबार सूचना जारी गर्दै सम्बन्धित विद्यालयलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार अनुमति लिएर पनि सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइनेछ। यसका लागि महानगरले सम्बन्धित विद्यालयहरूको सूचीसमेत सार्वजनिक गरेको छ। यदि सूचीमा रहेका विद्यालय अझै सञ्चालनमा छन् भने सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई तोकिएको समयभित्र शिक्षा विभागमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ।
तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ । पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।
