काठमाडौं पनि साक्षर जिल्ला घोषणा

काठमाडौं पनि साक्षर जिल्ला घोषणा

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।

प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरेका हुन् ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी लागेको बताए ।

छिमेकी जिल्ला ललितपुर शतप्रतिशत साक्षर भइसक्दा पनि काठमाडौलाई भर्खर साक्षर घोषणा गर्नु परेको भन्‍दै उनले काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनु पर्नेमा जोड दिए ।

स्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे। उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गरे।

सचिव थपलियाले भने,‘म खास गरी शिक्षा शाखामा काम गर्ने हाम्रा शिक्षा अधिकारी ज्यूहरुलाई विशेष निवेदन गर्न चाहन्छु, भोलिको दिनमा हामीले हाम्रो व्यवस्थापनलाई चुस्त बनाउनका लागि स्थानीय पालिकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसैले म सामाजिक विकास मन्त्री ज्यूलाई प्राविधिक शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै बजेट छुट्याउन अनुरोध गर्दछु।’

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको, शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको धारणा व्यक्त गरे । श्रोत तथा साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको हुँदा अबका दिनमा बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्ने जस्तो तरिकाले अघि बढिरहेको भन्ने तर्क गरे। ‘शिक्षामा व्यवस्थापकीय चुनौती छ । श्रोत र साधन छ तर व्यवस्थापन र कार्यान्वयनमा जटील चुनौती छ, म एउटा शिक्षासेवक भएकोले के भन्छु भने नेपालको शिक्षामा कार्यक्रममै चुनौती छ, कार्यान्वयनमै जटिल समस्या छ, अहिलेको शिक्षाको अवस्था बसको इन्जिन बनाइएको छैन, झ्यालहरु बनाउन थालिएको छ, त्यो पनि इन्जिन मुग्लिनमा जोड्ने गरी, त्यहाँसम्म पुग्छ कि पुग्दैन थाहा छैन’ उनले दुखेसो पोखे ।