अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति

कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा र त्यसको सम्भावित दुरुपयोगबारे अनुसन्धान गर्न समिति गठन गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्देशन तथा कार्यकारी परिषद्को निर्णयका आधारमा समिति बनाइएको हो।
वन विज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित समितिमा कृषि संकायका सह–डीन (प्रशासन) डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका सह–डीन (प्रशासन) राजेन्द्र बस्याल र सह–प्रशासक सहदेव चौधरी सदस्य छन्। कर्मचारी प्रशासन महाशाखाका कामु उप–प्रशासक दिनेश अधिकारीले सदस्य–सचिवको जिम्मेवारी पाएका छन्।
समितिले विश्वविद्यालय स्थापना भएदेखि अध्ययन बिदा लिएका तथा अन्य विश्वविद्यालय वा निकायबाट समायोजन भई विश्वविद्यालयको सेवामा आएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदा लिनुको उद्देश्य र त्यस अवधिमा भएका गतिविधिको छानबिन गर्नेछ।
यसका साथै, अध्ययन बिदा स्वीकृत गर्ने प्रक्रिया, अध्ययनको प्रगति र बिदामा रहेका शिक्षक तथा कर्मचारीले गरेका कामकारबाहीलाई समेत अनुसन्धानको विषय बनाइने विश्वविद्यालयले जनाएको छ।