सैद्धान्तिकमा करिब दुई लाखको एननी आउँदा प्रयोगात्मकमा भने शून्य, विज्ञान पनि कमजोर

सैद्धान्तिकमा करिब दुई लाखको एननी आउँदा प्रयोगात्मकमा भने शून्य, विज्ञान पनि कमजोर

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा     see.edusanjal.com  मा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

आज प्रकाशित नतिजामा गणित विषयमा एक लाख ७७ हजार ९८५ परीक्षार्थीको नतिजामा एनजी आउँदा प्रयोगात्मकमा भने एनजी आउँनेको संख्या शून्य रहेको छ । यो विषयमा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

गत वर्ष पुरानो लेटर ग्रेडिङ निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा समेत गणित  विषयमा १ लाख ५५ हजार ४५८ जना परीक्षार्थीकको ग्रेड ई आएको थियो ।

यस्तै यो वर्ष विज्ञानमा एक लाख २६ हजार ९३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार ३८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले बताए ।

त्यसैगरी सामाजिकमा ७३ हजार ८७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।

साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यस वर्षको एसईईको नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्राडा शर्माले बताए । उनका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन् ।

त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार दुई सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार आठ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार एक सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन् ।

 प्रदेशको नतिजा

आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी सहभागी भएकामा ४९ हजार २२४ जनाको ननग्रेड (एनजी) आएको छ । मधेश प्रदेशमा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार २८६ जनाले ननग्रेड (एनजी( तथा कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएकामा ३९ हजार ८९५ जनाको ननग्रेड (एनजी( आएको छ ।               

गण्डकी प्रदेशमा ४० हजार ५२६ विद्यार्थी सहभागी भएकामा २० हजार दुई सय ७५ जनाको ननग्रेड (एनजी( आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार तीन सय ८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार चार सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार चार सय १० जनाको ननग्रेड आएको छ । उनीहरूले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।