विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले  पाएको पुरस्कार रकमले स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउन विद्यालयले सिकाइ पूर्णरुपमा प्रविधिमैत्री बनाएको हो ।

विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख मध्ये रु दुई लाख १८ हजार खर्च गरेर एउटा  र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले व्यक्तिगत रूपमा रु एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरिदिएपछि विद्यालयले सिकाइमा प्रविधि भित्र्याएको प्रधानाध्यापक लेखबहादुर हमालले बताए ।

विद्यालयमा दुईओटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रधानाध्यापक हमालले बताए ।

विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको छ ।

उनले प्रविधिमा विद्यार्थी अघि र शिक्षक पछि पर्ने जोखिम रहेकाले स्मार्ट बोर्डले शिक्षकलाई समेत प्रविधिमैत्री बनेर अध्यापन गराउन सहयोग पुग्ने बताए ।

विद्यालयले पहिलोपटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्दै शिक्षण सिकाइलाई समयसापेक्ष रूपमा प्रविधि र व्यावहारिकतामा जोड्नुपर्ने बताए । 

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा एक हजार १५० बढी विद्यार्थी अध्ययरत छन् । विसं २०६६ देखि जिल्लामा पहिलोपटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० र कक्षा ११ मा २५ जना भर्ना भइसकेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका सहायक प्रधानध्यापक विनय श्रेष्ठले जानकारी दिए ।