काठमाडौं महानगरका ८३ विद्यालयका ३६ हजारभन्दा बढी व्यक्ति डिजिटल हाजिरी प्रणालीमा आबद्ध

काठमाडौं महानगरका ८३ विद्यालयका ३६ हजारभन्दा बढी व्यक्ति डिजिटल हाजिरी प्रणालीमा आबद्ध

काठमाडौं महानगरपालिकाले ८३ वटा सामुदायिक विद्यालयका ३६ हजार २८० जना विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारीलाई प्रणालीमा समेटिएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिएका छन्।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले गत माघ १३ गते विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली लागू गर्न निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले यससम्बन्धी काम अघि बढाएका थिए। तथ्याङ्क प्रविष्टि, अद्यावधिक र प्रतिवेदन तयार गर्ने क्षमता विकास गरेपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा विवरण प्रविष्ट गरिएको हो। महानगरपालिकाका अनुसार कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीको कुल सङ्ख्या करिब ४५ हजार छ।

महानगरपालिकाले २०८२ चैत १ गतेदेखि विद्यालयलाई उपलब्ध गराउने अनुदान तथा निकासा डिजिटल हाजिरी प्रणालीमा आबद्ध तथ्याङ्क र अभिलेखका आधारमा वितरण गर्ने निर्णय गरेको थियो। यसै सन्दर्भमा फागुन १३ र १४ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग भएको बैठकमा शिक्षा विभागले बाँकी रहेका विद्यालयको हाजिरी प्रणालीसम्बन्धी काम तत्काल पूरा गर्न आग्रह गरेको थियो। प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभए अनुदान रकम निकासा गर्न कठिन हुने विभागले जनाएको छ।

यसैबीच, महानगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। शिक्षा विभागका अनुसार पहिलो चरणमा चारवटा र दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भइसकेको छ। तेस्रो चरणमा २३ वटा विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको छ।

विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गर्दै महानगरपालिकाले पहिलो चरणमा छवटा र दोस्रो चरणमा पाँचवटा गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकमार्फत विशेष तयारी कक्षा सञ्चालन गरिरहेको छ। अन्य विद्यालयले पनि लिखित रूपमा माग गरेमा शिक्षा विभागले तयारी कक्षाको व्यवस्था गर्ने जनाएको छ।

त्यसैगरी, महानगरपालिकाले २०८२ चैत मसान्तसम्म शिक्षक दरबन्दी मिलान सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसार विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने तयारी गरेको छ।