प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)
चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
आयोगले एमबीबीएस तथा जनस्वास्थ्य विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको आरोप लगाएका हुन् । आयोगले सार्वजनिक गरेको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्कै विद्यार्थीको नाम प्रकाशित गरेको बताएका छन् ।
परीक्षार्थीले आयोगले मेरिटका आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने भएपनि रोल नम्बरका आधारमा नतिजा सार्वजनिक गर्दा मेरिटलिष्ट प्रभावित हुने बताएका छन् ।

आयोगले सूचना जारी गर्दै चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा समान अंक प्राप्त गर्ने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्ने गरिएकोमा चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको हालसम्म प्रकाशन भएका नतिजामध्ये १४ गते प्रकाशित एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजामा समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेक, बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितका आधारमा कायम हुनु पर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरको आधारमा प्रकाशित हुन गएकोले यस अघि प्रकाशित नतिजालाई आयोगको अभिलेख अनुसार संशोधन गरेको जनाएको छ । कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णय अनुसार टाइब्रेकको आधार समेत संलग्न गरी नतिजा संशोधन गरेको छ ।
संशोधित नतिजामा समान अंक प्राप्त गरेका उम्मेदवारहरूको मात्र योग्यताक्रम परिवर्तन भएको, अन्य उम्मेदवारहरूको योग्यताक्रम यथावत रहेको र सबै परीक्षार्थीहरूले प्राप्त गरेको प्राप्तांकमा कुनै परिवर्तन नभएको सूचनामा उल्लेख गरेको छ ।
नतिजमा चित्त नबुझेपछि ५० भन्दा बढी परीक्षार्थीले उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दै आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोगले सार्वजनिक गरेको नतिजा विश्वसनीय नभएको भन्दै विद्यार्थीले हिजो आयोग परिसरमा प्रदर्शनसमेत गरेका थिए ।
आयोगले भदौ १ देखि ५ सम्म स्नातक तहको भर्नाका लागि १५ विषयमा एकीकृत प्रवेश परीक्षामा एमबीबीएसको नतिजामा ७ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका थिए ।
भने शनिवार सार्वजनिक गरेको बीडीएसमा ३४१६ र बीपीएचमा १ हजार ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
