राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सुविधा विस्तार भएको छ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि दाङ तथा आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले क्याथ ल्याब सेवाले यस क्षेत्रको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले प्रतिष्ठानका सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउँदै स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।