सामुदायिक विद्यालयमा यो वर्ष भर्ना हुनेमा ८० देखि ९० प्रतिशत निजीका विद्यार्थी

सामुदायिक विद्यालयमा यो वर्ष भर्ना हुनेमा ८० देखि ९० प्रतिशत निजीका विद्यार्थी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६१ सालबाट राष्ट्र व्यापिरुपमा आव्हान गरेर हरेक शैक्षिक सत्रको सुरुका १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । गत वर्ष कोभिड १९ को सङ्क्रमण कारण विधिवत रुपमा यो अभियान केन्द्रले सञ्चालन गर्न सकेन ।

तर यो वर्ष शैक्षिक वर्ष दुई महिना थप गरेर नयाँ शैक्षिक सत्र असारबाट सुरु गर्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार एक गते देखि १५ गते सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई निर्देशन दियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै विद्यालयलाई वैकल्पिक माध्यमबाट विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई भर्ना गर्न निर्देशन दियो ।

केन्द्रको निर्देशन अनुसार विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका सहरका सामुदायिक विद्यालयले अनलाइन, टेलिफोन र भौतिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरे । अधिकांश निजी विद्यालयको पहुँच भएका सामुदायिक विद्यालयले सञ्चालन गरेको भर्ना अभियानमा ८० देखि ९० प्रतिशत भन्दा बढी निजी विद्यालयमा अध्ययनरत विद्यार्थी भर्ना भएको सम्बन्धित विद्यालयले जानकारी दिए ।

काडमाडौंको विश्वनिकेतन माध्यमिक विद्यालयमा महामारीका बाबजुत अहिलेसम्म ८०० जना विद्यार्थी भर्ना भइसकेका छन् । भर्ना भएका नयाँ विद्यार्थी मध्ये ५०० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका अधिकांश विद्यार्थी पूर्व निजी विद्यालयमा अध्ययनरत विद्यार्थी रहेका छन् । विश्वनिकेतन माविले सबै विद्यार्थीको प्रवेश परीक्षा भर्चुअल माध्यमबाट सञ्चालन गरेको छ । अनलाइनको पहुँच बाहिरका विद्यार्थीलाई फोनबाट नै अन्तर्वार्ता लिई भर्ना लिएको विद्यालयका प्रधानाध्यापक हरेम्बराज कडेँलले बताए । ‘कक्षा १ देखि ९ सम्म विद्यालयले गत जेठ २६ गते देखि नै नयाँ भर्नाका लागि आव्हान गर्यो ।’ उनले भने, ‘अहिलेसम्म ८०० विद्यार्थी भर्ना भइसकेका छन्, ती मध्ये ५०० नयाँ विद्यार्थी छन्, भर्ना भएकामा ९० प्रतिशत निजी विद्यालयका छन् ।’

विद्यालयले क्षमताभन्दा बढी विद्यार्थी भर्नाका लागि आएको भन्दै नयाँ विद्यार्थी भर्ना लिन छाडिसकेको छ । विद्यालयमा सीमित सिट विद्यालयका कर्मचारी तथा शिक्षकका छोराछोरीका लागि छुट्याएको प्रधानध्यापक कडेँलले जानकारी दिए । विद्यालयमा साना कक्षा भन्दा कक्षा ६ देखि माथिका कक्षामा नयाँ विद्यार्थी भर्नाका लागि आएका छन् । विश्वनिकेतनले गत असार तीन गतेबाट नै माइक्रोसफ्टबाट अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

त्यसैगरी जनकल्याण माविमा पनि अहिले सम्म ६५० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका मध्ये १५० जना नयाँ विद्यार्थी छन् । नयाँ अधिकांश विद्यार्थी निजी विद्यालयका रहेको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईले जानकारी दिइन् । ‘बाहिर हल्ला सामुदायिक विद्यालयका विद्यार्थी कमजोर हुन्छन् भन्ने छ तर यस्तो होइन रहेछ ।’ प्रधानाध्यापक राई भन्छिन्, ‘हाम्रो विद्यालयमा भर्ना भएका निजीका विद्यार्थी असाध्यै कमजोर छन् ।’

त्यस्तै काठमाडौंको डिल्ली बजारस्थित पद्योदय माविमा अहिलेसम्म ४०० जना विद्यार्थीले भर्नाका लागि आफ्नो नाम दर्ता गराएका छन् । अहिलेसम्म ३०० विद्यार्थीले पाठ्यपुस्तक लगिसकेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले जानकारी दिए । ‘अहिलेसम्म ४०० विद्यार्थी विधिवत रुपमा भर्ना भएका छन् ।’ प्रधानाध्यापक गौतमले भने, ‘८० जना नयाँ विदार्थी भर्ना भएका छन् भर्ना भएका विद्यार्थीमा ८० प्रतिशत निजी विद्यालयका विद्यार्थी छन् ।’

कालिमाटी स्थित निल बाराही माविले भने यो शैक्षिक वर्षमा नयाँ विद्यार्थी भर्ना लिएन । २०७२ सालको भूकम्प प्रभावित विद्यालयको पुनः निर्माण हुन नसक्दा विद्यार्थीलाई यो वर्ष भर्ना नलिइएको प्रधानाध्यापक डा. जानुका नेपालले जानकारी दिइन् ।

सरकारले २०६१ सालदेखि सुरु गरेको यो अभियान सफल गर्दै आएको भए पनि देशै भर अझै पनि ५ देखि ७ प्रतिशत बालबालिका विद्यालय बाहिर नै रहेका छन् । यिनीहरुलाई विदालयमा भित्र्याउन र टिकाउने अझै सरकारको कसरत नपुगेको विज्ञहरु बताउँछन् ।